डा. गोविन्द केसीले दिए फेरि अनसन बस्ने चेतावनी


काठमाडौं- चिकित्सा शिक्षा सुधार अभियन्ता भनेर चिनिएका डा. गोविन्द केसीले पुन: अनसन बस्ने चेतावनी दिएका छन् ।

आफूसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न सरकारलाई ३ हप्ताको अल्टिमेटम दिँदै उनले अनसन बस्ने चेतावनी दिएका हुन् ।

नागरिक अधिकार, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय र पीडकलाई सजाय दिनुपर्ने, गेटामा तुरुन्त स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेश प्रदेशका साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज /प्रतिष्ठान तुरुन्त निर्माण गर्नुपर्ने माग सम्बोधन गर्न उनले तीन हप्ताको समय दिएका हुन् ।

यस्तै पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका पदाधिकारीलाई कारबाही र तथा  सबै नेपालीलाई निशुल्क उपचार सम्बन्धी आफूले उठाउँदै आएका माग सम्बोधन गर्न उनले माग राखेका छन् ।

केसीले उच्च शिक्षा र प्रतिष्ठान सम्बन्धी ऐन तुरुन्त पारित गर्नुपर्ने नभए आफू सत्याग्रहलगायत दबाबमूलक कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया