युएईसँग हार ब्यहोर्दा नेपालको एसिया कपको सपना तुहियो


काठमाडौं – एसिया कप प्रवेशको लक्ष्यसहित ओमान गएको नेपाली राष्ट्रिय क्रिकेट टिमले सेमिफाइनलमै युएईसँग पराजित भएपछि नेपालको सपना तुहिएको छ ।

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलको पहिलो खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएसँगै नेपालको उपाधीका साथ एसिया कप खेल्ने सपना तुहिएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोरा बाहेक अन्य ब्याट्सम्यान नचल्दा ११९ रनमा खुम्चियो ।

१२० रनको लक्ष्यसहित ब्याटिङका लागि मैदानमा उत्रिएको युएईले उक्त लक्ष्य ४ विकेट गुमाएर १७.२ ओभरमा पूरा गर्दा एसिसी प्रिमियर कपको फाइनल प्रवेश गरेको छ । युएईले ओमान र हङकङबीचको विजेतासँग फाइनल खेल्नेछ । यस प्रतियोगिताको विजेताले आगामी एसिया कप सहभागि हुने अवसर पाउनेछन् ।

युएईका लागि अलिसान शराफूले ५५ रन बनाए भने विष्णु सुकमरनले २८ रन बनाए । त्यस्तै आशिफ खान १० रनमा आउट हुँदा सायद हैदर १४ रनमा आउट भएका थिए ।

नेपालका लागि गुल्सन झाले २ विकेट लिए भने सोमपाल कामी र ललितनारायण राजवंशीले १÷१ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो बलमै कुशल भुर्तेललाई गुमाउँदा खेलको सुरुवात गर्ने अवसर नै पाएन । भुर्तेलपछि आशिफ शेख र रोहित पौडेल सस्तोमै आउट हुँदा त्यसपछि आएका सन्दीप जोराले केही आशा देखाएका थिए ।

नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाए पनि अन्य खेलाडीले निराशाजनक प्रदर्शन गर्दा नेपालले खराब क्रिकेट खेलेको हो । जोरा ५० रन बनाएर आउट भए ।

सन्दीप बाहेक नेपालका लागि कुशल भुर्तेल शुन्य, आशिफ शेख ८, रोहित पौडेल ५, कुशल मल्ल ३, दिपेन्द्र सिंह ऐरी ५, सोमपाल कामी २ रनमा आउट भए ।

त्यस्तै गुल्सन झाले २० रन बनाए भने करण केसी १७ रनमा आउट भए । नेपालका ललितनारायण राजवंशी र अविनाश बोहोरा नटआउट रहे ।

प्रतिक्रिया