विराटनगरमा एकैपटक १५ जोडीको सामुहिक विवाह


विराटनगर-  विराटनगरस्थित अतिथि सदनमा विहिबार भएको विवाहमा दुलहा–दुलहीकै भीड थियो । त्यहाँ एक जोडी मात्र हैन, एकै पटक १५ जोडीले सामुहिक बिवाह गरेका छन् ।

सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल विराटनगरस्थित माहेश्वरी महिला मञ्चले ३० जना युवा–युवतीको सामुहिक विवाह गरिदिएको हो । सामुहिक विवाह गर्नेमा मोरङको जहदा गाउँपालिकाका १२ जोडी छन् भने कटहरी र झापाका युवा–युवती पनि विवाह बन्धनमा बाँधिएका छन् । उनीहरु स्थानीय विराटेश्वर मन्दिरमा भेला भई सिटीरिक्सा चढेर अतिथि सदन आएका थिए ।

त्यहाँ प्रत्यक जोडीका लागि फरक–फरक जग्गे बनाइएको थियो । उनीहरुलाई पुरोहितले धार्मिक परम्परा अनुसार विवाह गरिदिए । बिहेमा करिब ३५ लाख रुपैयाँ खर्च भएकाे बताइएकाे छ ।

अखिल भारतवर्षीय महेश्वरी महिला संगठनकी उपाध्यक्ष तथा नेपाल उद्योग परिसंघकी उपाध्यक्ष गिरिजा सारडाले विवाहमा प्रत्येक बेहुलीलाई तिलहरीदेखि घाँटीमा लगाउने सुनको चेन, कानको झुम्का, चाँदीको पायल, लेहङ्गा, ७ वटा साडी, दराज, पलङ लगायतका सामाग्री उपलब्ध गराएको बताइन् । त्यसैगरि, बेहुलालाई समेत ३ सेट सर्टपेन्ट, खाद्यान्न, भाडाकुडाँ दिइएको थियो ।

महेश्वरी महिला मञ्ज विराटनगरकी अध्यक्ष पुनम राठीले समस्यामा रहेका विपन्न समुदायका युवालाई विवाह गराउन मञ्चले नै मुख्य भूमिका खेलेको जानकारी दिइन् ।

प्रतिक्रिया