सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेसँग दाहाल र ओलीको चासो


काठमाडौँ – सहकारी ठगी प्रकरणका विषयमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेबीच बिहीबार अपराह्न सिंहदरवारमा छलफल भएको हो ।

बैठकमा सहकारी ठगी प्रकरणमा काँग्रेसले उठाएका प्रश्नहरूबारे गृहमन्त्री लामिछानेसँग दाहाल र ओलीले चासो राखेका थिए ।

लामिछानेले यसबारे आफ्नो कुनै कमजोरी नभएको भन्दै काँग्रेसले राजनीतिक मुद्दा बनाएको तर्क गरेका थिए । सहकारी प्रकरणमा संलग्न भएको भन्दै काँग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछानेको राजीनामा माग्ने तयारी गरिरहेका बेता तीन नेताबीच छलफल भएको हो ।

प्रमुख प्रतिपक्ष काँग्रेसले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गरिरहेको बेला सरकारले संसद् अधिवेशन अन्त्य गरेको थियो । काँग्रेसले आगामी बजेट अधिवेशनमा समेत यो विषयलाई निरन्तरता दिने बताइसकेको छ ।

छलफलपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेले तीन नेताबीच समग्र राजनीतिक विषयमा समीक्षा भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया