


एमाले स्थायी समितिमा पनि नेपाल–खनाल समूह कमजोर, यस्तो छ जोड–घटाऊ

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय समिति, संसदीय दलमा कमजोर रहेका माधवकुमार नेपाल–झलनाथ खनाल समूह स्थायी समितिमा पनि अल्पमतमा रहेको पाइएको छ।
उपाध्यक्ष बामदेव गौतमलगायतको समर्थन नरहेको खण्डमा नेपाल–खनाल समूह स्थायी समितिमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग स्पर्धा गर्न सक्ने अवस्थामा नरहेको स्पष्ट देखिएको छ।
एमालेको २६ सदस्यीय स्थायी समितिमा नेपाल–खनाल समूहसँग जम्माजम्मी ११ जना मात्र सदस्य रहेका छन्। १३ भन्दा बढी ओलीसँग छन् भने केही उपाध्यक्ष गौतमसँग रहेको बताइएको छ।
झलनाथ खनाल, माधव नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र अमृत बोहोरा मात्रै उक्त समूहमा छन्।
‘केन्द्रीय समितिमा लगभग हाराहारीको अवस्थामा रहेको भनी प्रचार गरिएको छ, त्यहाँ पनि कमजोर अवस्थामा नै देखिन्छ। संसदीय दलमा त प्रधानमन्त्री दुई गुणाले अगाडि छन्’, एमाले स्रोतले भन्यो।
यता ओली अझ शक्तिशाली बन्नका लागि नेकपा माओवादी केन्द्रबाट आएका गृहमन्त्री रामबहादुर थापा बादललाई उपाध्यक्ष पदमा नियुक्त गरी स्थायी समितिमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभुन शाह, मणि थापालगायतलाई मनोनित गर्दैछन्।
‘अहिले आफूसँग भएको बहुमतले यो निर्णय पास गराएपछि एमालेभित्र प्रधानमन्त्री ओली अझ गतिलो शक्तिमा उदय हुने स्पष्ट छ’, स्रोतले भन्यो।

