

हिजो जसलाई काँध हाले, उनैले मलाई डीएसपी लगाएर कुटाए : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूहरूको आन्दोलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बल प्रयोग गर्न लगाएको भन्दै गुनासो गरेका छन् ।
राप्रपाले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा आफूसहित कार्यकर्तालाई प्रहरीले कुटपिट गरेको भन्दै बुधबारको संसद बैठकमा गृहमन्त्री लामिछानेप्रति गुनासो गरेका हुन् ।
‘हिजो रविलाई थुन्दा कहाँ हुनहुन्थ्यो । हिजो मैले रविलाई काँध हालेर हिँडेको हुँ । उनलाई प्रहरीले थुन्दा आन्दोलन लिएर गएँ । आज रवि लामिछानेसँग जोडिएर कैयौँ मानिस सांसद भए । तर, हिजो उनलाई प्रहरीले थुन्दा कहाँ थिए ? हिजो रविलाई थुन्नुपर्छ भन्नेहरू उहाँकै पार्टीका ठुलाठुला पदमा हुनुहुन्छ । केही उहाँकै पार्टीका सांसद छन् । हिजो त्यो बेलामा उहाँलाई काँध थापेको थिएँ मैले’’ शाहीले भने, ‘‘आज म आफैँले आन्दोलन गर्दा रविले नै मलाई डीएसपी लगाएर कुटाए । मेरो कपडासम्म च्यात्न लगाउनुभयो । हिजो काँध थाप्नेलाई आज पिट्नुभएको छ।’’

