आजबाट स्वास्थ्य बिमा कार्यक्रम सबै पालिकामा पुग्दै


काठमाडाैं- ८ वर्षअघि कैलालीबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम आजबाट देशव्यापी हुने भएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू हुन बाँकी रहेको अन्तिम पालिका काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा आजबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु हुँदै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बिमा दिवसको अवसरमा आज आयोजना हुने औपचारिक कार्यक्रममा बुढालिनकण्ठ नगरपालिकामा प्रतिनिधिलाई सदस्यता प्रदान गरी त्यस पालिकामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको घोषणा गर्ने छन् ।

आज आठौँ स्वास्थ्य बीमा दिवस मनाईंदैछ । ‘तपाईको स्वास्थ्य हाम्रो अठोट : स्वास्थ्य सेवामा सर्वब्यापी पहुँच’ भन्ने नाराकासाथ स्वास्थ्य बीमा दिवस मनाउन लागिएको हो ।

बीमा बोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाकाअनुसार पछिल्लो जनगणनाको तथ्याङ्कनुसार ३५ दशमलव ८८ प्रतिशत घरपरिवार अनि २६ दशमलव ५४ प्रतिशत नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुगेको छ । बीमा नवीकरण गर्ने झण्डै ७० प्रतिशत रहेका छन् । स्वास्थ्य बीमा कार्यक्रमबाट बीमितलाई न्यूनतम योगदान रकमका आधारमा स्वास्थ्य उपचार सुविधाको व्यवस्था छ ।

बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार गएको माघ १ गतेदेखि १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने व्यवस्था लागू गरेको छ । बीमा कार्यक्रममार्फत् पाँच जनासम्मको परिवारको तीन हजार पाँच सय रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले वर्षभरीमा एक लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ । पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले थप दुईसय बुझाउनु पर्छ ।

 

प्रतिक्रिया