राजेन्द्र महतोको प्रदर्शनमा झडप हुँदा ४ प्रदर्शनकारी र २ प्रहरी घाईते, एकको अवस्था गम्भीर
काठमाडौं – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा आइतबार काठमाडौँमा झडप भएको छ ।
झडपका क्रममा कम्तीमा ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार घाइते हुनेमा ४ जना प्रदर्शनकारी र दुई जना प्रहरी रहेका छन् ।
घाइते प्रहरीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चार जना प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ ।
खुलामञ्च जाने भनिएको यार्ली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको थियो । झडपका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढासमेत गरेका थिए ।