प्रहरी नियमावली लत्याउँदै गृहमन्त्रीले गरे एसपीको सरुवा, आईजीपीले लिन सकेनन् अडान


काठमाडौं – शुक्रबार प्रहरी प्रधान कार्यालयले १६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको काज सरुवाको सूची निकाल्यो । जसमा सात जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन् ।

सरुवामा तराईका ६ वटा जिल्ला र एक पहाडी जिल्ला प्रहरी प्रमुखको सरुवा भएको छ । समयावधी नै नपुगी अचानक जिल्ला प्रमुखहरुको सरुवा भएपछि गृहमन्त्री रवि लामिछाने आलोचित भएका छन् । जबकी प्रहरी संगठनमा एसपीले १ वर्ष रहेर काम गर्नसक्ने प्रावधान छ ।

गृहमन्त्री लामिछानेको हस्तक्षेपका कारण प्रहरी संगठन भद्रगोल अवस्थामा पुगेको एक सिनियर प्रहरी अधिकृत बताउँछन् । प्रहरी मापदण्डलाई लत्याउँदै लामिछानेले संगठन प्रमुखलाई दबाब दिएको ती अधिकृतको दाबी छ ।

जसले गर्दा अहिले प्रहरी संगठनमा यस्तो पनि हुन्छ, कसरी यस्तो भयो ? भनेर केही एसपीहरु नै प्रश्न गर्न थालेका छन् । एक एसपी भन्छन्, ‘गएको २ महिना पनि पुगेको छैन, बीचमै नयाँ गृहमन्त्री आउनासाथ आफ्नो मान्छेलाई लैजानकै लागि एसपीहरु परिवर्तन गर्न थालियो भने के होला ?’

गृहमन्त्री लामिछानेको सचिवालय टिमले प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरलाई २ महिना पनि नपुग्दै जिल्ला प्रहरी प्रमुखहरुलाई फेरबदल गर्न दबाब दिएको ती एसपीको बुझाइ छ । यहिँबाट प्रष्ट हुन्छ कि आईजीपी कुँवरले अडान लिन नसक्दा यस्तो अवस्था सिर्जना भएको हो ।

यसअघिको एसपी बढुवा र प्रहरी नायब उपरीक्षक (डिएसपी) बढुवा समेत विवादमा तानिएको छ । डिएसपीमा १ नम्बरमा रहेका प्रदीप क्षेत्रीलाई छाडेर १२ नम्बरकालाई बढुवा गरेपछि गृहमन्त्री लामिछाने र आईजीपी कुँवरको परीक्षा सुरु भएको थियो ।

विवादमा आएपछि उनीहरुले सरुवा बढुवालाई अझै राम्रो गर्ने अपेक्षा थियो । तर, गृहमन्त्री लामिछानेको सचिवालय टिमको दबाब झनै बढेको छ । जसलाई आईजीपी कुँवरले अडान लिनसक्न पर्थ्यो । कुँवर पनि उनीहरुकै पछि-पछि लागे ।

यता प्रहरी प्रधान कार्यालयले ती एसपीहरुलाई कार्यसम्पादका विषयमा उजुरी बढेपछि गृह मन्त्रालयको निर्देशनमा हटाइएको जनाएको छ ।

बाँके, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषाका एसपीलाई अवधि नपुगी हटाइएको हो । बाँकेका एसपी सुवासचन्द्र बोहरा, बाराका सुरेश काफ्ले, रौतहटका महेन्द्र श्रेष्ठ, सर्लाहीका दयानिधी ज्ञवाली, महोत्तरीका श्यामकुमार राई तथा धनुषाका मित्रबन्धु शर्माको सरुवा भएको हो ।

उनीहरुमध्ये सर्लाहीका ज्ञवाली र महोत्तरीका राईको अवधि दुई महिना पनि पुगेको थिएन । बाँकेमा तुलबहादुर कार्की, बारामा महेन्द्र खड्का, रौतटहमा दिलिप घिमिरे, सर्लाहीमा रबिन्द्र सिंह, महोत्तरीमा नकुल पोखरेल र धनुषामा भुवनेश्वर तिवारीको सरुवा भएको छ ।

यस्तै पहाडी जिल्ला नुवाकोटमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ । यसअघि नुवाकोटमा प्रहरी प्रमुख एसपी संजय सिंह थापा सुन तस्करी प्रकरणमा तानिएपछि नुवाकोटमा प्रहरी प्रमुखविहीन बनेको थियो ।

प्रतिक्रिया