

धार्मिक तनाव बढेपछि सुनसरीका दुई गाउँपालिकामा निषेधाज्ञा जारी

काठमाडौं- जिल्ला प्रशासन कार्यालय सुनसरीले दुईवटा गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ । हरिनगर गाउँपालिकाका सबै वडा र देवानगंज गाउँपालिकाको वडा नम्बर १ र ७ मा आज दिनको १२ बजेदेखि निषेधाज्ञा जारी गरेको हो ।
शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।
अत्यावश्यक काम परे सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने भेला, धार्मिक, राजनैतिक सभा, र्याली, भेलाजम्मा प्रदर्शन लगायतको कुनै कार्यक्रमहरू नगर्न र नगराउन समेत सूचनामार्फत जनकारी गराएको छ ।
बिहीबार मुस्लिम युवाहरुको आक्रमणमा घाइते भएका हरिनगरा गाउँपालिका ३ का जीवन मेहताको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार मेहताको अवस्था खतरामुक्त छ ।

