


‘तपस्वी’ रामबहादुरको मुद्दामा लिखित बसहनोटको आदेश

महोत्तरी – लिटिल बुद्धका नामले समेत चिनिएका ‘तपस्वी’ रामबहादुर बम्जनविरुद्धको मुद्दामा वादी र प्रतिवादी दुवैतर्फका वकिलको लिखित बहस नोट पेस गर्ने आदेश भएको छ ।
सर्लाही जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलाशले वादी र प्रतिवादी दुवैतर्फका वकिलहरूलाई लिखित बहस नोट पेस गर्न आदेश दिएको हो ।
वादी नेपाल सरकार र प्रतिवादी बम्जनतर्फका वकिलले न्यायाधीश पराजुलीको इजलासमा बहस गरेका थिए । वादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका प्रमुख जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले बहस गरेका थिए ।
प्रतिवादी बम्जनका तर्फबाट भने काठमाडौँबाट आएका कानुन व्यवसायीहरू वरिष्ठ अधिवक्ता सीताराम केसी, राम घिमिरे, अमलकुमार लामा र अतुल घिमिरे तथा सर्लाहीका तीर्थराज घिमिरे र दिलीपकुमार झाले बहस गरेको सर्लाही जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।
कानुन व्यवसायीहरूले मौखिक रूपमा गरेको बहस आगामी वैशाख १३ गतेभित्र लिखित नोटका रूपमा पेस भएपछि उक्त बहस मिसिलमा सामेल गरिने र फैसलाका लागि अर्को पेशी तोकिने जनाइएको छ ।
गत पुस २६ गते सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनी हाल महोत्तरीको जलेश्वरस्थित कारागारमा रहेका छन् ।
अनुयायी बेपत्ता पारेको आरोप लागेका बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत पुस २४ गते साँझ काठमाडौँको बुढानीलकण्ठस्थित घरबाटै पक्राउ गरेको थियो । पक्राउ परेका बम्जनलाई सिआइबीले पुस २५ गते राति जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुझाएको थियो ।

