

भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा परे संसदीय दलका नेता शाही

काठमाडौं– नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद निलम्बनमा परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिदमा १ अर्ब बराबर बिगो र कैद माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि शाहीको सांसद पद निलम्बनमा परेको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ । उनी निलम्बन भएपछि नेपाली कांग्रेसले फैसला नभएसम्मका लागि एक सांसद गुमाएको छ ।
दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टचार गरेको भन्दै अख्तियारले शाहीसहित ३२ जनालाई मुद्दा दर्ता गरेको छ ।
वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टचार भएको दाबी अख्तियारले गरेको छ।

