


विप्लव यसै आएका र बादल त्यसै टाँसिएका होइनन्, कारण यस्तो छ

काठमाडौं– प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले रटान लगाइरहने विषयलाई सार्वजनिक कार्यक्रममा नेत्रविक्रम चन्द विप्लवले उठाए।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन विप्लवले सार्वजनिक मञ्चबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सोधे– २० हजार जनमुक्ति सेनाको १९ अर्ब खोई?
नेकपा विवादयता पूर्वमाओवादी नेताले उठाइरहेको यो ‘कमन’ प्रश्न हो। प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका नेता तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले बुटवलमा बहिर्गमित लडाकुको भेलामा यहि प्रश्न उठाएका थिए।
माओवादीको मूलधारबाट विभिन्न पार्टी र समूहमा विभक्त भए पनि यो प्रश्न प्रचण्डतिर कहिल्यै पनि तेर्सिएको थिएन। अन्य विषयमा भ्रष्टाचारको सवाल गर्दा जनता समाजवादीमा पुगेका डा. बाबुराम भट्टराईले प्रश्न गरे पनि क्यान्टोनमेन्ट घोटालाका विषयमा भने गरेका थिएनन्।
अहिले प्रचण्डमाथि यो प्रश्न एमालेका उच्च तहका नेताले गरिरहेका छैनन्। बरु, माओवादी छाडेका नेताबाट नै बारम्बार उठिरहेका छन्। ‘यो प्रश्न गरेको होइन, गराइएको हो। यो प्रश्नबाट एउटा न्यारेटिभ तयार पारिनेछ र प्रचण्डमाथि राजनीतिक या कानुनी रुपमा प्रहार हुनेछ’, उच्च स्रोतले भन्यो।
राजनीतिक घटनाक्रमले पनि सोही विषयतिर संकेत गरिरहेको छ। सरकार ढल्नै लागेका कमजोर प्रधानमन्त्री देखिने ओली सरकारसँग विप्लवले किन सहमति गरे र शान्ति प्रक्रियामा आएको घोषणा गरे?
उनलाई राज्यले प्रहरी निरिक्षकको नेतृत्वमा १० जना सुरक्षाकर्मी पनि खटाइएको छ। ‘जुन सरकारले प्रतिबन्ध घोषणा गरेको थियो, नेता कार्यकर्ता जेलमा हालेको थियो। अनि, कतिपय नेताको इन्काउन्टर गरेको थियो। विप्लवले सम्झौता किन गरे?’, स्रोतले भन्यो,‘यो सम्झौता गरेको होइन, गराइएको हो। विप्लव यसै आएका होइनन्।’
नेपालमा स्थापित भएको माओवादी नामलाई नै नामेट गर्ने रणनीतिअनुसार अहिलेको राजनीति चलिरहेको बताइएको छ। खासगरी प्रचण्डको राजनीतिक साख र प्रयोगलाई कमजोर बनाउने ठूलो तयारी रहेको बुझिएको छ।
‘पार्टीमा त्यत्रो अन्तरविरोध हुँदा क्रान्तिकारी विचार भएका गृहमन्त्री रामबहादुर थापा बादल किन प्रचण्डतिर लागेनन्? जबकि, सबै उनका साथी उतै गए’, उच्च स्रोतले भन्यो,‘प्रधानमन्त्री ओलीसँग उनी टाँसिनुको कारण के थियो?’
गृह मन्त्रालयमा आएको सूचनाअनुसार माओवादी भन्ने नामको नामेटकै लागि केही अन्तर्राष्ट्रिय शक्ति अहिले हावी भएपछि राजनीतिक सुरक्षणका लागि बादल प्रधानमन्त्री ओलीसँग टाँसिएको बताइन्छ।
यति मात्र नभएर तत्कालिन पार्टीमा मोहन वैद्यको नेतृत्व भए पनि बादल र विप्लवको अन्तरविरोधका कारण नै विभाजन आएको थियो। तर यी दुईबीच नै सहमतिमा हस्ताक्षर हुनुलाई भएको चमत्कार नभएर बनाइएको चमात्कारका रुपमा व्याख्या गर्छन् विश्लेषकहरू।
‘विप्लवलाई शान्ति प्रक्रियामा ल्याएपछि ओलीको सरकार कम्फर्टेबल चल्न सक्ने भएपछि यावत प्रयास सफल पारियो, यो ओली एक्लैले पारेको या चालेको विषय होइन’, एक स्रोतले भन्यो,‘यसभित्र असाधारण तयारी र प्रयोग भएका छन्।’ स्रोतका अनुसार यो तयारीका प्रभाव र प्रमाण विस्तारै खुल्दै जानेछ।

