डिएसपी बढुवाको तयारीमा हेडक्वार्टर, एसपी बढुवाबाट तर्सेका इन्स्पेक्टरहरु भनसुनका लागि दौडधूपमा !


काठमाडौं – प्रहरी प्रधान कार्यालयले प्रहरी निरिक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरिक्षक (डिएसपी) बढुवाको तयारी गरेको छ । गतसाता डिएसपीबाट एसपीमा बढुवा गरेको हेडक्वार्टरले डिएसपीका रिक्त दरबन्दीमा बढुवाको तयारी गरेको हो ।

हेडक्र्वाटरले डिएसपी बढुवाका लागि लिस्ट तयारी गर्दै गर्दा यता बढुवा हुने लाइनमा रहेका १०१ इन्स्पेक्टरहरु बढुवाका लागि दौडधूप सुरु गरेका छन्् ।

बिहीबार एसपी बढुवा गर्दा पहिलो नम्बरकै डिएसपी छुटेको तीतो यथार्थ नबिर्सिएका इन्स्पेक्टरहरुले यसपटक पनि बरियता, कार्यक्षमता र दक्षता भन्दा भनसुनलाई नै पहिलो प्राथमिकता दिँदै दौडधूपमा लागेका छन् ।

२०७० सालमा इन्स्पेक्टरमा भर्ना भएका १४७ जनामध्ये यसअघि नै ४६ जना डिएसपी भइसकेका छन् भने बाँकी १०१ जना डिएसपी बढुवाका आकांक्षी रहेका छन् ।

एसपीसम्मको बढुवाको अधिकार रहेका प्रहरी महानिरीक्षक (आईजी) ले नै इन्स्पेक्टरको बढुवा गर्ने भएता पनि केही इन्स्पेक्टरहरु शक्तिकेन्द्र धाउन थालिसकेका छन् । एसपी बढुवामा बालकोट र बालुवाटार हाबी रहेको प्रत्यक्ष अनुभव गरिएको सातादिन नबित्दै हेडक्वार्टरले सुरु गरेको डिएसपी बढुवामा पुनः दबाब नआउला भन्न सकिन्न । नेपालका चार सुरक्षा निकायमध्ये सबैभन्दा बढी राजनीतिक दबाब आउने नेपाल प्रहरीको सरुवा र बढुवा विवादरहित बनेको बिरलै पाइन्छ ।

गृहमन्त्रालय सम्हालेका रास्वपा अध्यक्ष रवि लामिछानेका केही कार्यकर्तालाई पनि डिएसपी बढुवाका लागि फोन आउन  थालिसकेको जनाइएकोछ । गत आम निर्वाचनमा रास्वपाको तर्फबाट उम्मेदवार रहेका एक नेताले डिएसपी बढुवाका लागि गृहमन्त्रीलाई भनिदिनका लागि आफूलाई पनि फोन आएको बताए ।

आईजी बसन्त बहादुर कुँवरले डिएसपी बढुवाका लागि प्रतिस्पर्धामा रहेका इन्स्पेक्टरहरुको ‘ट्रयाक रेकर्ड’को छानबिन सुरु गरिसकेको जनाइएको छ । बढुवाका लागि उनकै संयोजकत्वमा गठन हुने बढुवा समितिले बढुवाका रहेका सम्पूर्ण इन्स्पेक्टरको कार्य क्षमता र दक्षताबारे छानबिन सुरु गरिसकेको जनाइएको छ ।

एसपी बढुवाका लागि ६ महिनाभन्दा लामो समय लागेपछि आलोचना ब्यहोरेको हेडक्वार्टरले डिएसपी बढुवा भने समयमै गर्ने तयारी गरेको जनाइएको छ ।

प्रतिक्रिया