

उपनिर्वाचनका उम्मेद्वार टुंगो लगाउँदै कांग्रेस, को–को छन् आकांक्षी ?

काठमाडौं — वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो आज लगाउने भएको छ ।
मंगलबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको संसदीय बोर्डको बैठक पछि इलाम क्षेत्र नं. २ र बझाङमा हुने निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने जनाइएको छ ।
बैठकले इलाम निर्वाचन क्षेत्र नं. २ मा वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको उम्मेदवार छान्ने छ । कांग्रेस नेता मीनबहादुर विश्वकर्माका अनुसार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मङ्गलबार बसेको संसदीय बोर्डको बैठकमा प्रदेश कार्यसमितिले सिफारिस गरेका उम्मेदवारको नामावलीमाथि छलफल भएको छ । उनले भने, ‘उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा बुधबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्छ ।’
इलाम–२ बाट निर्वाचित एमाले उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको गत भदौ २६ गते र सुदूरपश्चिम प्रदेश सभाका लागि बझाङ क्षेत्र नं. १ (क) बाट निर्वाचित कांग्रेस नेता पृथ्वीबहादुर सिंहको गत असार २५ गते दुर्घटनामा निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन तय भएको हो ।
कांग्रेस कोशी प्रदेश कार्यसमितिले नेताहरू भेषराज आचार्य, केशव थापा, डम्बरबहादुर खड्कासहित छ जनाको नाम सिफारिस गरेको छ । सभापति देउवाले इलाम जिल्ला सभापति खड्काको नाम उम्मेदवारका लागि प्रस्ताव गर्नुभएको छ । केन्द्रीय सदस्य डा. शेखर कोइराला नेता आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडानमा छन् ।
यसैबीच कांग्रेस संसदीय बोर्डको बैठकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा गर्नुपर्ने र राजीनामा नगरे प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
अन्य दलले उम्मेदवारको टुंगो लगाएर घरदैलो सुरू गरिसक्दा पनि कांग्रेसले उममेदवार छान्न सकेकाे छैन ।

