भारतीयले दशगजा क्षेत्रबाट माटो लगेपछि कञ्चनपुरमा विवाद


कञ्चनपुर– कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा नेपाल–भारत पक्षबीच विवाद उत्पन्न भएको छ । भारतीय नागरिकले दशगजा क्षेत्रबाट माटो ओसार्दा विवाद उत्पन्न भएको हो ।

जिल्लाको बेलौरी नगरपालिका–१० भुडाको दर्सी खल्लामा भारतस्थित पिलिभित जिल्ला कम्बोजनगरका नागरिक अनुप सिंहले घर भरानका लागि माटो लगेका थिए । माटो भारततर्फ लैजादै गर्दा केही स्थानीयले देखेपछि नेपालस्थित सशस्त्र प्रहरी बललाई खबर गरिएको थियो ।

त्यसपछि सशस्त्र प्रहरीको बिओपी भुडाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक खेमराज जोशीको नेतृत्वमा गएको टोलीले भारतीय सीमा सुरक्षा बल(एसएसबी) सँगको सहकार्यमा सो कार्य रोकेको थियो ।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा सधैंजसो सीमा विवाद हुने गरेको छ । बेल्डाँडी गाउँपालिकाको वडा नम्बर ५ झिलमिलादेखि डोके बजारसम्म सीमा विवाद कायम रहेको हो ।

नेपाली भूमिमा बेलाबेला भारतीय पक्षले नापजाँच गर्ने तथा सीमा पिल्लर सार्ने कार्यले त्यहाँका बासिन्दा त्रसित छन् ।

प्रतिक्रिया