

ठगी आरोपमा तीन चिनियाँ नागरिक पक्राउ

पर्सा – अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित एक घरमा डेरामा प्रहरीले शनिबार छापा मारेर तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चीनको हुनान प्रान्तमा बस्ने ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओ रहेका छन् । उनीहरूलाई प्रहरीले वीरगञ्जको विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
अनलाइन लटरी, अनलाइन सपिङ जस्ता विभिन्न प्रकारको प्रलोभन देखाएर नेपाली तथा विदेशीहरूबाट रकम ठगी गरिरहेको भन्ने सूचना प्रहरीलाई थियो। सूचनापछि प्रहरीको इन्टिलिजेन्स टोलीले यसको थप अनुसन्धान गरेको थियो।
चिनियाँ नागरिकहरूमाथि निगरानी गरी प्रहरीको टोली उनीहरू बस्ने डेरामा पुगेको थियो। उनीहरूबाट १२० वटा सिपियू, ११८ वटा मनिटर, तीन वटा पासपोर्ट, ३५ वटा मोबाइल, १३ वटा भारतीय जियो सिम, चार वटा ल्यापटप, प्रिन्टर, २६ वटा किबोर्ड लगायत बरामद भएको छ।
त्यस्तै मलेसियन रिंगिट, नेपाली गरी ४३ हजार रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

