

छोरा र छोरीसँगै बाबु मणिराजले पनि दिए एसईई

पाँचखाल – देशभर शैक्षिक क्षेत्रको फलामको ढोका मानिएको एसईई परिक्षा चलिरहेको छ । आज परिक्षाको दोस्रो दिन । अहिलेसम्म अंग्रेजी र नेपालीको परिक्षा भइसक्यो । परिक्षामा विभिन्न किसिमका परिक्षार्थीहरु सहभागि भएका छन् ।
१२ वर्षीयदेखि ६४ वर्ष कटेका सम्मले एसईई दिएको समाचार आइरहेका बेला संघीय राजधानी काठमाडौंको छिमेकी जिल्लामा एकै घरका बाबु, छोरा र छोरीले सँगै एसईई दिएको पाइएको छ ।
काठमाडौंसँग सिमा जोडिएको काभ्रेको पाँचखाल नगरपालिका १ मा रहेको ज्ञानेश्वरी माध्यमिक विद्यालयका कार्यालय सहयोगी मणिराज दाहाल सहित छोरी मनिषा र छोरा मनिष एसईई परीक्षा २०८० मा सामेल भएका छन् ।
मणिराज र मनिषले ज्ञानेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गरेका हुन् भने छोरी मनिषाले पाँचखालमा रहेको सरस्वती शिक्षा गृहमा अध्ययन गरेकी हुन् ।
४१ वर्षको उमेरमा पहिलो पटक एसईई परीक्षामा सामेल हुने अवसर पाएको मणिराजले बताए । ‘छोरा मनिष ज्ञानेश्वरीमा भर्ना भए पछि बाबु समेत रहेका कार्यालय सहयोगी मणिराजले आफुलाई पनि अध्ययन गर्न र एसईई पास गर्ने चाहना भएको बताए पछि विद्यालय परिवारले उनलाई कार्यालय सहयोगिको जिम्मेवारीसहित अध्ययनको वातावरण मिलाएको थियो’–विद्यालयका सहायक प्रधानाध्यापक गंगाराम कँडेलले भने–‘यस अघि विविध कारणवश उनले अध्ययन गर्न र एसएलसी तथा एसईई परीक्षामा सामेल हुन पाएका पनि रहेनछन् । अहिले चाहना गरे पछि वातावरण बनायौं । बाबु छोरा सँगै अध्ययन गरेर एकै पटक एसईईमा सहभागी भएका छन् । ’
काम र अध्ययन सँगसँगै गरेका मणिराजको पहिलो दिनको परीक्षा राम्रो भएको प्रतिक्रिया दिएको सहायक प्रधानाध्यापक कँडेलले बताए । बाबु छोराले सर्वमंगला माविबाट परिक्षा दिएका छन् भने छोरी मनिषाको केन्द्र दुधेश्वर माविमा रहेको छ ।
काभ्रेमा परीक्षामा नियमित तर्फ ५ हजार ९ सय ६१ मध्ये ५ हजार ८ सय ४६ विद्यार्थी सहभागि भएका छन् ।

