

उत्तरपुस्तिका हराएपछि त्रिविले बनायो उच्चस्तरीय छानबिन समिति

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । उक्त घटना छानबिन गर्न त्रिवि कार्यकारी परिषद्को बिहीबारको निर्णयअनुसार तीन सदस्यीय समिति बनेको हो ।
त्रिविका पूर्वरजिस्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको त्रिविले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
समितिलाई उत्तरपुस्तिका हराएको घटना के कसरी भएको हो भन्नेबारेमा विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।
गत वैशाखमा भएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय (कोड नं. ४२२ ) र शिक्षाशास्त्र संकाय तर्फको शिक्षाको आधार विषय ( कोड नं. ४१२ ) का उत्तरपुस्तिकाहरू हराएको थियो ।

