

नदीमा माछा मार्न गएका किशोर बेपत्ता

मान्म – कालीकोटको तिलागुफा नगरपालिका–६ मा तिला नदीमा माछा मार्न गएका किशोर बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका–६ स्थित तिला नदीमा माछा मार्ने क्रममा सोही ठाउँका अन्दाजी १५ वर्षीय गणेश शाही नदीमा बेपत्ता भएका हुन् ।
उनीसँगै नदीमा माछा मार्न गएका साथीका अनुसार ढुङ्गामा चिप्लिएर गणेश बेपत्ता भएको खबर आएको तिलागुफा नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले बताए ।
‘तीर्थबहादुर शाहीका छोरा बेपत्ता भएको, उनको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्’, उनले भने, ‘घटना आज दिउँसो २ बजेतिर भएको हो ।’
तिला नदीमा प्रहरी चौकी खल्ला र गाल्जेको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । बेपत्ता किशोर कालिका माध्यामिक विद्यालय खल्लामा कक्षा–९ मा अध्ययनरत रहेको नगरप्रमुख उपाध्यायले जानकारी दिए ।

