काठमाडौंस्थित अमेरिकी दूतावासले विद्यार्थी र कामदार भिषा दिन थाल्यो


काठमाडौं– महाराजगञ्जस्थित नेपालका लागि अमेरिकी राजदूतावासले विद्यार्थीसहित ७ प्रकारका भिषा दिन थालेको छ।

दूतावासले जारी गरेको सूचनाअनुसार बिना अन्तरवार्ता नविकरण गर्ने भिजिटर भिषा बी वान/बी टु, सीमित संख्यामा क्रु मेम्बर सी वान/डी भिषा, सीमित संख्यामा विद्यार्थी भिषा एफ, एम र एक्सचेन्ज भिजिटर जे भिषा, मेडिकल वा अन्य आपतकालिन अवस्थाका अन्य गैरआप्रवासी भिषा जारी गर्न आवेदन लिन थालिएको हो।

दूतावासले सिमित संख्यामा कामदार भिषा एच र एलका लागि समेत भिषा आवेदन लिन थालेको हो।

त्यस्तै विद्यार्थी भिषा आवेदकका लागि विगतमा कोरोना महामारीका कारण शिघ्र अप्वाइन्टमेन्टको व्यवस्था खारेज गरिएकोमा अमेरिकी दूतावास काठमाडौंले उक्त व्यवस्था पुन लागु गरेको छ । अर्थात् निश्चित मापदण्ड पूरा गरेका विद्यार्थी भिषाका आवेदकहरुले शिघ्र आवेदन समेत लिनसक्ने भएका छन् ।

यदि विगत १२ महिनामा भिषा अस्वीकृत भएको छैन र कार्यक्रमको शुरु हुने अपेक्षित मितिको लागि कुनै ‘अनलाइन अपोइन्टमेन्ट’ उपलब्ध छैनन् भने त्यस्ता विद्यार्थी भिषा र एक्सचेन्ज भिषाका आवेदकहरुले शिघ्र अप्वाइन्टमेन्ट लिन सक्नेछन् ।

त्यस्तै एकबर्ष वा लामो समय पढाई स्थगित गरेर पुन पढाई सुचारु गर्नका लागि अमेरिका फर्कन थालेका विद्यार्थी÷एक्सचेन्ज भिजिटरले समेत शिघ्र अप्वाइन्टमेन्ट लिन सक्नेछन् ।

शिघ्र अप्वाइन्टमेन्ट लिनका लागि सुरुमा डीएस १६० फर्म भरेर भिषा शुल्क तिर्नुपर्छ । अनि अनलाइनबाट उपलब्ध सबैभन्दा अगाडिको कुनै पनि मितिको अप्वाइन्टमेन्ट लिनुपर्छ । त्यसपछि शिघ्र अप्वाइन्टमेन्टको विकल्प दिइन्छ । त्यसपछि शिघ्र अप्वाइन्टमेन्टको फर्म भरेर कल सेन्टरमा सम्पर्क गर्नुपर्छ ।

दूतावासले तपाईको शिघ्र अप्वाइन्टमेन्ट स्वीकृत भएकोबारे इमेलमार्फत जानकारी गराउँछ । त्यसपछि तपाईले शिघ्र अप्वाइन्टमेन्टको मिति तय गर्न सक्नुहुनेछ ।

जनवरीमा दिल्लीमा रहेको अमेरिकी दूतावासमार्फत अमेरिकाको विद्यार्थी भिषा लिने नेपालीहरुको संख्या उल्लेख्य रहेको थियो। काठमाडौंमा रहेको अमेरिकी दूतावासले एक जनालाई मात्र विद्यार्थी भिषा जारी गरे पनि जनवरीमा विद्यार्थी भिषा पाउने नेपालीहरुको कुल संख्या भने १ सय ११ रहेको थियो । उनीहरुका ५ जना डिपेन्डेण्टहरुले समेत पाएका थिए।

प्रतिक्रिया