


चौतर्फी विरोधपछि पछि हट्यो गृह मन्त्रालय, चलानी नं.बिना अर्को विज्ञप्ति !

काठमाडौं — गृह मन्त्रालयले आमसञ्चार माध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गरेको परिपत्र केही घन्टामै सच्याएको छ । तर उक्त पत्रमा दर्ता नं. र चलानी नम्बर भने राखिएको छैन ।
७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहीबार पठाएको परिपत्रमा अनलाइन तथा छापा सञ्चार माध्यमको अनुगमन र कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा डेस्क राख्ने उल्लेख थियो । उक्त बुँदाको चौतर्फी विरोध भएपछि गृहमन्त्रालय आफ्नै निर्णयविरुद्ध केही घन्टामै पछि हटेको हो ।
त्यसपछि बिहीबार साँझ नै गृह मन्त्रालयले अर्को विज्ञप्ति जारी गरी सञ्चार माध्यमको निगरानी र कारबाही गर्ने विषय परिपत्रमा समावेश नभएको स्पष्टीकरण दिएको छ ।

