
शालीन आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका सबै धरौटीमा छुटे
चितवन- एकता शिशु निकेतनकी छात्रा शालीन पोखरेलको मृत्युपछि हिरासतमा रहेका तीन जनालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले शालीन मृत्यु प्रकरणमा पक्राउ परेका विद्यालयका तीन शिक्षकलाई धरौटी जमानीमा छोडेर मुद्दा अघि बढाउन आदेश गरेको हो ।
सोमबारदेखि भएको थुनछेक बहसपछि न्यायाधीश ज्ञवालीले विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटालाई तीन लाख, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्राबासका वार्डेन कमलप्रसाद शर्मालाई पाँच-पाँच लाख धरौटीमा छोड्ने आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
शालीन गत फागुन १२ गते विद्यालयको होस्टलमा मृत भेटिएकी थिइन् । त्यसपछि शालीनका बाबु दीपेन्द्र पोखरेलले हत्या अभियोगमा जाहेरी दिएका थिए । तर प्रमाण नपुगेपछि सरकारी वकिलको कार्यालयले आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेको थियो ।



कागजपत्र |
