

एक महिनापछि नागढुङ्गा सुरुङ्गमार्गको काम सुचारु

काठमाडौं – निर्माण कार्य अवरुद्ध रहेको नागढुङ्गा सुरुङ्गमार्गको काम मंगलबारदेखि सुचारु भएको छ ।
सोमबार उपप्रधान तथा विभागीय मन्त्री रघुवीर महासेठको अध्यक्षतामा बसेकाे बैठकमा आन्दोलनकारी स्थानीयबासीलाई पनि सहभागी गराइएको थियो । बैठकमा स्थानीयबासीहरुले उठाएका मागहरुको बारेमा मन्त्री महासेठले सम्बोधन गर्ने मौखिक सहमति जनाएपछि स्थानीयले तत्कालको लागि आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
स्थानीयले तत्कालका लागि आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि पछिल्लो एक महिनादेखि अवरुद्ध रहेको नागढुङ्गा सुरुङ्गमार्गको निर्माण कार्य मंगलबार बिहानदेखि सुचारु भएको हो ।
स्थानीय बासिन्दाले सुरुङ्गमार्ग निर्माण क्षेत्रमा असर परेकाले उक्त क्षेत्रलाई प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने, डिप बोरिङ्गसहितको पर्याप्त परिमाणमा खानेपानीको व्यवस्था गर्नुपर्ने, खेतीयोग्य जमिनमा सिंचाईको व्यवस्था गर्नुपर्ने, चर्केका घरहरुको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग अघि सारेका छन् ।
यस्तै सुरुङ्गमार्ग माथिको जमिनको उचित सम्बोधन गर्नुपर्ने र प्रभावित क्षेत्रको बासिन्दालाई रोजगारीे सुनिश्चितता गर्नुपर्नेलगायतका माग राखेर गत फागुन ६ गतेदेखि निर्माण स्थल अवरुद्ध गरी चरणवद्ध आन्दोलन गरिरहेका थिए । यो आन्दोलनका कारण एक महिनादेखि सुरुङ्गमार्गको सम्पूर्ण काम अवरुद्ध भएको थियो ।
स्थानीयको अवरोधका कारण गत फागुनदेखि चैत ५ गते गरी एक महिना पूर्ण रुपमा काम अवरुद्ध हुँदा ठेकेदार कम्पनी जापानको हाजमा एण्डो कर्पोरेशनले दैनिक १ करोड रुपैयाँबराबरको क्षति व्यहोर्नुपरेको बताउँदै नागढुङ्गा सुरुङ्गमार्ग निर्माण आयोजनामा एक महिनाबराबरको ३० करोड रुपैयाँ हाराहारीमा क्षतिपूर्तिको लागि क्लेम गर्न सक्ने पत्र समेत पठाएको छ ।

