
चन्द्रागिरी नगरपालिकाले गर्यो अख्तियारको निर्देशनको बेवास्ता
डेढ वर्षसम्म पनि भएन सरकारी जग्गा संरक्षण गर्ने निर्देशन कार्यान्वयन
काठमाडौं — चन्द्रागिरी नगरपालिकाको तीनथानास्थित सरकारी बाटो संरक्षणमा नगरपालिकाले उदासीनता देखाएको छ ।
नगरपालिकाको वडा नं. १५ साविक तीनथाना गाविस वडा नं. ८ को कि.नं. १५०७ को सरकारी बाटोलाई अतिक्रमण गरी १५३४ नम्बर कित्तामा घर बनाएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले पनि सरकारी बाटोको संरक्षणका लागि नगरपालिकामा निर्देशन दिए पनि नगरपालिकाले डेढवर्षसम्म पनि अख्तियारको निर्देशन पालना गरेको छैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साउन २४ गते नै नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई सरकारी बाटो संरक्षणका लागि निर्देशन दिएको थियो । उक्त सरकारी बाटो अतिक्रमण गर्नका लागि भूमाफिया र सरकारी कर्मचारी नै संलग्न भनी उजुरी परेको थियो । त्यसपछि अख्तियारले छानबिन गर्दा नक्सा अनुसार बाटोको चौडाई नपुगेको यकिन भएपछि अख्तियारले बाटो संरक्षणका लागि सम्बन्धित निकायलाई पत्राचार गरेको थियो ।
अख्तियारको निर्देशन आएको लामो समयपछि पनि निर्णय कार्यान्वयन नभएपछि सम्बन्धित स्थानीयबासीहरु पटकपटक नगरपालिकाकामा दबाब दिन गए पनि हालसम्म सरकारी बाटो कायम हुन सकेको छैन । त्यसैले अब स्थानीयहरु पुनः सो निर्णय कार्यान्वयनका लागि अख्तियारलाई नै गुहार्ने अवस्थामा पुगेको समेत जनाएका छन् ।



कागजपत्र |
