संसद भवनमै प्रवेश गरे मिटरब्याज पीडित


काठमाडौं – विभिन्न जिल्लाबाट न्याय माग्न काठमाडौं आएका मिटरब्याज पीडितहरु संसद भवनमा परिसरमै प्रवेश गरेका छन् ।

आज (सोमबार) नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसद बैठक चलिरहेका बेला मिटरब्याज पीडितहरू संसद भवन परिसरमा पुगेर नाराबाजी पुगेका हुन् ।

झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिँडेका मिटरब्याज पीडित २३ दिनपछि गत बुधबार काठमाडौं आइपुगेका थिए ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि कानुन संशोधन र जाँचबुझ आयोग गठन गरे पनि आफूहरुको समस्या समाधान नभएको भन्दै मिटरब्याज पीडितहरु पुनः न्याय खोज्दै काठमाडौं आएका हुन् ।

उनीहरुले आफूहरु विरुद्ध मिटरब्याजीको धरपकड नरोकिएको, फर्जी तमसुकको आधारमा जग्गा हडप्ने काम भइरहेको, अदालतमा मुद्दा चलिरहेको र मिटरब्याज पीडितहरु जेल जाने अवस्था अन्त्य नभएको बताएका छन् ।

यसैबीच गृह मन्त्रालयमा सरकारी वार्ता टोली र मिटरब्याजपीडितहरुबीच औपचारिक वार्ता भइरहेको छ । टरब्याजपीडितलाई वार्तामा बोलाएको गृह मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा २ जना उपसचिव रहेको वार्ता टोली गठन गरेको छ ।

सोही वार्ता टोली र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालको तर्फबाट अवधेश कुशवाहाको नेतृत्वमा गठित ९ सदस्यीय वार्ता टोलीबीच वार्ता भएको हो । सडकमा उर्लिएका पीडितहरु सरकारको गोली नै खानुपरे पनि न्याय नपाएसम्म धर्ना नछाड्ने अडानमा छन् ।

प्रतिक्रिया