

सडक विस्तारमा ढिलाई गरेको भन्दै अनशन बसे काभ्रेका जिसस प्रमुख

काठमाडौं- अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक विस्तारमा ढिलाइ भएको भन्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले अनशन थालेका छन् । गौतमले हिजो दिउँसोदेखि आमरण अनसन थालेका हुन् ।
सडक विस्तार तथा स्तरोन्नतीको ठेक्का पाएको गौरी पार्वती निर्माण सेवा प्रालिले ठेक्का सम्झौता भएको २० महिना पूरा हुँदा पनि लक्ष्य अनुसारको काम नगरेको गौतमले बताए । सडक बन्ने आधार पेस नभएसम्म आफ्नो आमरण अनशन नतोड्ने उनको अडान छ ।
सडक विस्तारमा ढिलासुस्ती हुँदा लाखौँ नागरिकले सास्ती व्यहोर्नु परेको उनले बताए
अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा ४ किलोमीटर सडक विस्तार तथा स्तरोन्नती गर्ने उद्देश्यले डिभिजन सडक कार्यालय भक्तपुर र गौरी पार्वती निर्माण सेवा प्रालिबीच २०७९ जेठ २० गते सम्झौता भएको थियो । २२ महिना अर्थात् २०८० चैत १९ गते सम्पन्न गर्ने सम्झौता भएको थियो ।

