

संसद्लाई पुन:क्रियाशील तुल्याउन योगदान गरेका सबैमा सभामुखको बधाई

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनःक्रियाशिल भएको प्रतिनिधिसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा सांसदहरूलाई स्वागत गर्दै त्यस निम्ति योगदान गरेका सम्पूर्ण निकायमा बधाई ज्ञापन गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो लिखित मन्तव्यमा सापकोटाले लोकतन्त्रको सार्वभौम मान्यता, संविधानको मर्म र भावनाअनुसार प्रतिनिधिसभालाई पुनःस्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सर्वोच्च अदालतप्रति आभार प्रकट गरे ।
जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने सर्वोच्च थलो पुनः स्थापित भएका सुखद् अवसरमा उनले सदस्य एवं सभालाई क्रियाशील बनाउन योगदान गर्ने सबैलाई बधाई ज्ञापन गरे । प्रतिनिधिसभाको जीवनमा उल्लेखनीय मोड निकै कम हुन्छन् भन्दै सभामुखले हामी त्यस्तै ऐतिहासिक समयको साछी भएका छाँै भन्ने आफ्नो मन्तव्यमा उल्लेख गरे । उनले फागुन ११ सँगै आजको दिन पनि इतिहासमा स्मरणीय रहने बताए ।
संविधानले शक्तिपृथक्कीकरणको सिद्धान्तलाई अबलम्वन गर्दै उनले शक्ति सन्तुलन र नियन्त्रणसहित संवैधानिक सर्वोच्चता स्वीकार गरेको र प्रतिनिधिसभाको पुनः क्रियाशिलतासँग यो मान्यता अझ स्थापित भएको बताए ।
राष्ट्रिय राजनीतिमा उत्पन्न उल्झन जनताको सार्वभौमसत्ता सम्पन्न निकायबाट सम्वाद र बहसमार्फत सुल्झाउनुपर्छ भन्ने संविधानको मर्म र भावना उज्यालिएको उनको भनाइ छ ।

