एमालेको बदनाम गराउने गठबन्धनको एजेण्डा असफल : अध्यक्ष ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनको एकमात्र एजेण्डा एमालेको विरोध र बदनाम गर्नेमात्र रहेको टिप्पणी गरेका छन् ।

एमाले केन्द्रीय कमिटी बैठकलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले गत निर्वाचनपछि गठबन्धनको चरित्र बदल्न एमालेले पहल गरेपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड इमानमा अड्न नसक्दा एमालेसँगको गठबन्धन भत्कन पुगेको बताए । साथै उनले गठबन्धन पूर्णत असफल भएको दाबी समेत गरे ।

‘गठबन्धन राष्ट्रियताप्रति कमजोर, सुशासन प्रति कमजोर छ । विकासप्रति चासो छैन । चालु आयोजना बन्द छन् । अहिलेको गठबन्धनको उद्देश्य नेकपा एमालेको विरोध हो । एमालेलाई बदनाम गराउने एउटामात्रै गठबन्धनको एजेण्डा हो’, ओलीले भने, ‘जनतामा निराशा छ । नागरिकहरु विदेश पलायन भएका छन् ।’

अध्यक्ष ओलीले २०५८ सालमै राजतन्त्रको अन्त्य भएको भन्दै २०५८ पछि ज्ञानेन्द्र शाह कुशको राजामात्रै भएको बताए । उनले केही मानिस फेरि राजतन्त्र ल्याउन तम्सिनुमा सत्ता गठबन्धनको असफलता कारक रहेको बताए ।

‘गठबन्धनको क्षमता नहुनु एउटा कुरा हो । तर जानीबुझी अर्को अपराध एमालेलाई होचो देखाएर जालीझेली प्रचार चलाए’, उनले एमालेलाई कमजोर बनाउन खोज्दा अनेक खालका शक्ति सलबलाउन थालेको भन्दै देशका लागि यो शुभसंकेत नहुने पनि बताए । ‘यस गठबन्धनले भित्रभित्र साम्प्रदायिक विद्वेष र पहिचानका नाममा अराजकता मच्चाएका छन् । मुख्यमन्त्री आफैले भनेका छन्’, ओलीको भनाइ छ ।

प्रतिक्रिया