

नेदरल्याण्डसद्वारा नामिबिया ७ विकेटले पराजित

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको १२४ रनको लक्ष्य नेदरल्याण्डले ३ विकेट गुमाउँदै २७.२ ओभरमा पूरा गरेको हो ।
नेदरल्याण्ड्सका लागि ओपनर मिचेल लेभितले ५७ रनको पारी खेले । त्यस्तै म्याक्स ओडवडले २८ रन बनाएका थिए । नामिबियाका लागि तिनवटै विकेट गेरहार्ड इरासमसले लिएका थिए ।
यससँगै नेदरल्याण्डले पहिलो जित हात पारेको छ । यसअघि नेदरल्याण्ड नेपालसँग ९ विकेटले पराजित भएको थियो ।
नेदरल्याण्डका लागि टस हारेर फिल्डिङमा आएको नामिबियाले ३५.१ ओभरमा सबै विकेट गुमाएर १२३ रनमात्र बनाएपछि नेदरल्यान्ड्सले जितका लागि १२४ रनको लक्ष्य पाएको हो ।
नेदरल्यान्ड्सको बलिङविरुद्ध संघर्षरत नामिबियाका जेजे स्मिथले सर्वाधिक २६ रन बनाए । रुवेन ट्रम्पेलमेनले २० र जेन ग्रिनले १९ रन थपे । यस्तै, निकोलास डाभिन र कप्तान गेरहार्ड इरास्मसले समान १३ रन बनाउँदा बर्नार्ड स्कोल्जले १२ रन जोडे ।
नामिबियालाई सस्तैमा समेट्न नेदरल्यान्ड्सका आर्यन दत्तले ६ विकेट लिए । काइल क्लेइनले दुई विकेट लिँदा रोइलोफ भान डेर मेर्वे र म्याक्स ओ‘ओडोडले समान एक विकेट लिए ।

