त्रिभुवन विमानस्थल ५ दिन बन्द हुन सक्ने


काठमाडाैं – ‘ट्याक्सी वे’लाई धावनमार्ग(रनवे) सम्म जोड्ने कामका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चारदेखि पाँचदिन बन्द हुन सक्ने बताइएको छ ।

धावनमार्गको उत्तरतर्फ एप्रोन (पार्किङ), ह्यांगर (मर्मत केन्द्र) का साथै समानान्तर ट्याक्सी–वे (विमान गुड्ने बाटो) बनिरहेको छ । त्यस्तै दक्षिणतर्फ पनि ट्याक्सी–वे निर्माणको काम भइरहेको नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले जनाएको छ ।

रन–वे र ट्याक्सी–वे बीचको कनेक्सन जडानको काम गर्दागर्दै विमानस्थल आंशिक तथा पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने आयोजनाका प्रमुख इन्जिनियर दिपेन्द्र श्रेष्ठले बताए । यसका लागि अहिलेदेखि नै सूचना दिइएको उनले बताए ।

‘रनवेबाट ७५ मिटर दायाँबायाँ दूरीमा चार मिटर गहिरो खाल्डो खनेर पुर्नु धेरै संवेदनशील काम पनि हो,’ श्रेष्ठले उनले भने, ’कालो माटो र पानी निस्कियो अथवा केही समस्या देखियो भने अहिलेको समयले पुग्दैन । थप समय लाग्ने देखिएमा रनवे नै बन्द गरेर काम गर्नुपर्ने हुन्छ ।’

न्यूनतम ८ देखि १० घण्टा समय लाग्ने भएपनि प्रतिकूल अवस्थामा भने लामो सयम नै विमानस्थल बन्द हुन सक्ने उनको भनाइ छ । तर सकेसम्म कमभन्दा कम समय विमानस्थल बन्द गरेर काम गर्ने विषयमा अध्ययन भइरहेको छ ।

उनका अनुसार त्यस्तो परिस्थिति आएमा विमानस्थलसँग जोडिएका वायुसेवाहरूलाई सूचना दिएर बन्द गरिनेछ । रनवेसम्म ट्याक्सी वे पु¥याउनका लागि भने अझै ३/४ महिना लाग्छ। उनका अनुसार सन् २०२४ को नोभेम्बर तथा २०२५ को जनवरीमा उक्त काम हुनेछ ।

प्रतिक्रिया