

‘यौन विवाद’मा मुछिएपछि एमालेका केन्द्रीय सदस्य महरलाई कारबाही

काठमाडौं- एमालेका केन्द्रीय सदस्य ऐन महरलाई कारबाही गरिएको छ । बिहिबार केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य महरले दिएको राजीनामा स्वीकृत गरेको उल्लेख गरेको छ ।
तर महरले राजीनामा नदिएको र उनलाई कारबाही भएको बुझिएको छ । पार्टीका एक नेताका अनुसार महर यौन विवादमा मुछिएकोले केन्द्रीय सचिवालय बैठकले उनलाई कारबाही गरेको बताए । महर विरुद्ध सचिवालयमा उजुरी समेत परेको बुझिएको छ ।
गत मंसिरमा महरको भनिएको ‘यौनसम्बन्धी विवाद’को एक अडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
त्यस्तै सिराज अहमत फारुकीको राजीनामा पनि स्वीकृत भएको छ । फारूकीले विदेश पठाइदिन्छु भनेर पैसा उठाएको र अलपत्र पारेको उजुरीपछि कारबाही गरिएको एक नेताले बताए। उनको पनि हर्कत पुष्टि भएपछि राजीनामा माग गरिएको एक केन्द्रीय नेताले बताए।

