११ वर्षपछि पक्राउ परे बिरामीको ज्यान लिने नक्कली डाक्टर


खोटाङ- उपचारमा लापरवाही गर्दै बिरामीको ज्यान लिने नक्कली डाक्टर  ११ वर्षपछि पक्राउ परेका छन् ।

२०६९ फागुन १७ गते हलेसी पोलिक्लिनिक दिक्तेलमा उपचारका क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङका ७२ वर्षीय चन्द्रसेन राईको मृत्यु भएको थियो ।

यसपछि मृतकको परिवारले दिएको किटानी जाहेरीका आधारमा उपचारमा संलग्न सुनसरीको गढी गाउँपालिका–३ का जीवानन्द मेहतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङले जनाएको छ ।

मेहताले पाँच मिनेटको अन्तरमा दुई वटा सुई लगाएदिएपछि राईको मृत्यु भएको भन्दै मृतककी आफन्त देवीसरा राईले २०६९ चैत १४ गते मेहता विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । मेहतालाई गत माघ २४ गते घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले आइतबार एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

छानबिनका क्रममा उपचारमा संलग्न डाक्टर मेहताले नक्कली प्रमाणपत्र पेश गरेर पोलिक्लिनिकमा काम गर्दै आएको खुलेको थियो । त्यसबेला आयुर्वेदमा एचए उत्तीर्ण मेहताले चीनबाट एमबीबीएस गरेको नक्कली प्रमाणपत्र पेश गरेर उपचार गरिरहेको खुलासा भएको थियो ।

प्रहरीले सोही पोलिक्लिनिकमा आवद्ध सप्तरी छिन्नमस्ता गाउँपालिका–५ का महेशप्रसाद साह र बोदेबरसाईन नगरपालिका–२ का अशोककुमार साहलाई पनि अनुसन्धानका लागि माघ २८ गते पक्राउ गरेको छ ।

पक्राउ परेका तीनै जना विरुद्ध म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

प्रतिक्रिया