गुल्मीका दुई आयुर्वेद औषधि पसललाई जरिवाना


गुल्मी- जिल्ला प्रशासन कार्यालय गुल्मीले तम्घासमा सञ्चालित दुई आयुर्वेद औषधि पससलाई एक/एक लाख रुपैयाँ जरिवाना गरेको छ । रेसुंगा नगरपालिका– ९ मा कानुनविपरीत रमेश अधिकारीले सञ्चालन गरेको सम्पन्न आयुर्वेद औषधि पसल र कमला पाण्डेयले सञ्चालन गरेको सफल होमियोप्याथिक औषधि पसललाई जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले दुवै पसललाई १५ माघमा सिलबन्दी गरेको थियो । पसलहरू सिलबन्दी गरेसँगै थप उसले छानबिन गर्न प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको थियो ।

छानबिन समितिको प्रतिवेदनको आधारमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार एक–एक लाख रुपैयाँ जरिवाना गरेर ११ दिनपछि पसल सञ्चालन गर्न दिइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले आयुर्वेद तथा होमियोप्याथिक औषधिको खुद्रा बिक्री–वितरण गर्ने अनुमति मात्रै रहेको दुई पसलले अनुमतिविना एलोपेथिक औषधिहरू बिक्री–वितरण गरेको, एक्सरे तथा भिडियो एक्सरे सेवा, फिजियोथेरापी सेवा, नेबुलाइजर सेवा प्रवाह गरिएको भेटाएको थियो ।

 

 

प्रतिक्रिया