

राष्ट्रियसभा अध्यक्षमा माओवादीको पनि दाबी

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा अध्यक्षमा नेकपा माओवादी केन्द्रको पनि दाबी रहने बताएका छन् ।
संसदीय दलको बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।
राष्ट्रिय सभाको निर्वाचन अगाडि नेपाली कांग्रेसले बरिष्ठ नेता कृष्ण सिटौलालाई राष्ट्रिय सभाको आगामी अध्यक्ष भन्दै निर्वाचनमा गएर निर्वाचित भइसकेको अवस्थामा माओवादी केन्द्र अध्यक्षले यस्तो दाबी गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले संसदीय दलको बैठकमा उनले गठबन्धनमा हुने निर्णयानुसार नै अघि बढ्ने जानकारी गराए।
तर, माओवादी केन्द्र सत्ता गठबन्धनभित्र हुने सहमतिअनुसार नै अघि बढ्ने प्रचण्डको भनाइ छ ।
माओवादीको संसदीय दलको बैठक सोमबार पनि बसेको थियो। गठबन्धनमा जे निर्णय हुन्छ, त्यसलाई स्वीकार गर्नुपर्ने समेत उनले बताए ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचन आउँदो फागुन २९ गते गर्ने कार्यतालिका छ ।
माघ ११ गतेको निर्वाचनपछि राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठूलो दल रहेको छ ।

