सरकारी कर्मचारी सवार गाडी दुर्घटना, ११ जना घाइते, ४ काे अवस्था गम्भीर


जनकपुरधाम – सर्लाहीमा नापी कार्यालयका कर्मचारीहरु सवार गाडी दुर्घटना भएको छ ।

सोमबार राति मलंगवा नगरपालिका-११ गमहरियामा कर्मचारी सवार बी.आ.०६ पी.डी.९६४८ नम्बरको सफारी गाडी ज२त १०६७ नम्बरको ट्याक्टरसँग ठोक्किँदा ११ जना घाइते भएका छन् ।

घाइते हुने सबै सफारीमा सवार नापी कार्यालय सर्लाहीका कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये नापी कार्यालय सर्लाहीका प्रमुख काभ्रे बनेपाका ४५ वर्षीय संजय मान्धर, मलंगवा-३ का ३५ वर्षीय रामलाल साह, सर्लाहीको बागमती नगरपालिका ५ बस्ने विनोद घिमिरे र महोत्तरीका ३० वर्षीय बैजु यादव गम्भीर छन् ।
उनीहरुलाई थप उपचारको लागि वीरगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

त्यस्तै संजित मण्डल, रिटेन यादव, बैधनाथ पटेल, रामबावु राय, दिपेन्द्र यादव, शहीद अनवर र अजय यादव सामान्य घाइते छन् ।

दुर्घटना पश्चात ट्याक्टर चालक फरार भएका छन् । उनको खोजिसँगै दुर्घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

प्रतिक्रिया