

गठबन्धनलाई जवाफ २०८४ मा : ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जवाफ दिन २०८४ को निर्वाचनको प्रतीक्षामा रहेको बताएका छन् । पार्टीको काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको युवा महोत्सव-२०८० को शनिबार उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
हरेक परिवर्तनका लागि एउटा निर्वाचन पर्याप्त हुने उनले बताए । उनले भने, ‘गठबन्धन, माकुराका कति वटा ८ वटा खुट्टा हुन्छन्, यिनीहरूका पनि त्यस्तै छन् । हामीले अधिनायकवाद, तानाशाह, राजतन्त्र, पञ्चायत सबै फ्याक्याौँ भने यो जोडजाम गरेर बनाएको गठबन्धन कुनै ठूलो कुरै होइन । एउटा चुनाव सधैँका लागि यस्ता गठबन्धनका संस्कृति, कुसंस्कृतिहरु अन्त्य गर्नका लागि काफी छ ।
त्यसैले हामीले भनेका छौँ मिसन ८४, यसले यो सबै समस्याको एकै पटक दबाई गर्छ । गठबन्धन जस्तो क्यान्सरको मेजर अप्रेसन ८४ मा गरिँदै छ ।’ उनले अर्थतन्त्रको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै रेमिट्यान्स माथिको निर्भरता उचित नभएको भनाइ राखे । रेमिट्यान्सले चलेको अर्थतन्त्र जस्तो धरासय अरु केही नभएको भन्दै उनले गठबन्धन सरकार मुलुकको दिगो विकास सुदृढीकरणतर्फ नभई रेमिट्यान्सतर्फ अगाडि बढेको बताए ।

