

इमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी कारागार चलान

बागलुङ- इमेज बचत तथा ऋण सहकारीकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई जेल चलान गरिएको छ ।
जिल्ला अदालत बागलुङको आदेशले सहकारी ठगी मुद्दामा इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष सुनारलाई जेल चलान गरिएको हो ।
उनीविरुद्ध गत असार १० गते पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरीले अदालतमा पेस गरेपछि अदालतको आदेशले उनलाई पुर्पक्षका लागि जेल पठाइएको बागलुङ प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले निसीखोला गाउँपालिका–३ घर भएकी सुनारलाई ललितपुरको धोबीघाटबाट गत बिहीबार बेलुकी पक्राउ गरेको थियो ।
बचतकर्ताको डेढ अर्बभन्दा धेरै रकम हिनामिना गरेको आरोप लागेपछि सहकारीका संस्थापक तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहितका सञ्चालक फरार थिए ।
नेपालीसँगै उनीसमेत फरार थिइन् । मुद्दाकै आधारमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् ।
उनीहरूलाई जिल्ला अदालत बागलुङको गत साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको हो । सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीसहितको ठगी मुद्दामा ९ जनालाई पक्राउ आदेश जारी भएको छ । तीमध्ये अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् ।

