

कैलालीमा मालपोत, नापी, सडक कार्यालय लगायत २५३ ग्राहकको विद्युत लाइन काटियो

कैलाली- कैलालीको धनगढी र अत्तरियामा दुई सय ५३ ग्राहकको विद्युतलाइन काटिएको छ ।
समयमा विद्युत महसुल नबुझाउने दुई सय ५३ ग्राहकको विद्युत लाइन काटिएको हो । ती ग्राहकले एक करोड ५३ लाख ४९ हजार तीन सय ६५ रुपैयाँ विद्युत महसुल बुझाउन आनाकानी गरेपछि धनगढी विद्युत वितरण केन्द्रले लाइन काटिदिएको हो ।
विद्युत लाइन काटेपछि एक सय ८० ग्राहकले विद्युत महसुल बुझाएको धनगढी विद्युत वितरण केन्द्र धनगढीका प्रमुख मिथिलेशकुमार गोयलले बताए । विद्युत लाइन काटिएपछि एक महिनाको अवधिमा ती ग्राहकबाट ७८ लाख ३७ हजार ४९१ रुपैयाँ विद्युत महसुलवाफतको रकम असुली भएको उनले बताए ।
धनगढी विद्युत वितरण केन्द्रले मालपोत कार्यालय, नापी, सडक लगायत गरी ७ वटा कार्यालयको लाइन काटेको छ ।
ती कार्यालयले ६ लाख दुई हजार ६ सय ७ रुपैयाँ विद्युत महसुल बुझाउन बाँकी छ । सरकारी कार्यालयबाट एक लाख ४८ हजार ६४० रुपैयाँ मात्र विद्युत महसुल वाफतको रकम असुली भएको छ ।
विद्युत वितरण केन्द्रका अनुसार एक महिनाको अवधिमा धनगढी र अत्तरिया क्षेत्रमा मात्र दुई सय ५३ विद्युत ग्राहकको लाइन काटिएको हो ।

