

शान्तिपूर्ण राजनीतिमा विप्लवलाई पौडी खेल्न आउँछः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन्।
शुक्रबार नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द समूहसँग सरकारले तीन बुँदे सहमतिमा हस्ताक्षर गरेपछिको सम्बोधनका क्रममा राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री ओलीले भने,‘मुलुक अन्तिम किस्तामा शान्तिपूर्ण युगमा प्रवेश गरेको छ, हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले अबलम्बन गरेको छैन। नेपाल शान्तिपूर्ण देश हो र शान्ति छ।’
उनले यसका निम्ति विप्लवलाई बधाई, शुभकामना र धन्यवाद दिए। सहमतिअनुसार उक्त समूहका नेता कार्यकर्ताको मुद्दा हेरी समयअनुसार रिहाई गरिने पनि बताए। सो क्रममा धर्मेन्द्र बास्तोलातिर देखाउँदै उनले प्रक्रिया सुरु भएको बताए।
उनले विप्लव समूहको शान्तिपूर्ण राजनीति सेफल्यान्डिङ भएको बताए। भने,‘फोर्स ल्यान्डिङ, क्र्यास ल्यान्डिङ होइन, सेफ ल्यान्डिङ हो।’
रातारात वार्ता गरिएको भनी आएका टिप्पणीतिर कताक्ष गर्दै उनले बर्षदिन देखिको प्रयास सफल भएको दाबी गरे। अगाडि भने,‘वार्ता वार्ताझैं गरेका थियौं, नगरा बझाएर गरेनौं। सहमति सहमति जस्तै तीन बुँदामा गरेका छौं। १८ पुराणको निष्कर्श व्यासले दुईवटा कुराले भने जस्तै हो। कुनै समस्या आए छलफलबाटै टुंगो लगाउँछौं।’
उनले शान्तिपूर्ण राजनीतिमा विप्लवका गतिविधि सफल हुने बताए। भने,‘ यस राजनीतिमा पौडी खेल्न विप्लवलाई आउँछ। मलाई विश्वास छ।’
प्रधानमन्त्री ओलीले सो क्रममा नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षलाई कटाक्ष समेत गरेका थिए। उनले कम्युनिस्टको दुई तिहाईको सरकार ढालेर किस्तीमा प्रधानमन्त्री पद बाँड्दै हिडेको बताउँदै भने,‘हामी कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राख्दैनौं, अनुचित हिसाबले राख्दा पनि राख्दैनौं। हामी भेन्टिलेशनबाट होइन, मूलढोकाबाट छिरेर आउँछौं।’

