सुदूरपश्चिमका मन्त्री साउँदले ज्यान मार्ने धम्कीको आरोप लगाउनेसँग गरे मिलापत्र


कैलाली- सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदले ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीमा मिलापत्र गरिएको छ ।

आर्थिक लेनदेनको विषयलाई लिएर मन्त्री साउँदले ज्यान सम्बन्धी धम्की दिएको भन्दै बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले सोमबार प्रहरीमा उजुरी दिएका थिए ।

तर उजुरी परेको भोलिपल्ट मंगलबार भने जिल्ला प्रहरी कार्यालय कैलालीमा मिलापत्र गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक  कुलदिप चन्दले मन्त्री साउँद र उजुरीकर्ताबीच मिलापत्र भएको जानकारी दिए ।

‘उहाँहरु बाहिरै छलफल गरेर आउनुभएको थियो । अघि बिहान दुवै जनाले मिलापत्र गरेर जानुभयो,’ चन्दले भने । उनले मन्त्री साउँदविरुद्ध किटानी जाहेरी नभएर समान्य जाहेरी परेकाले मिलापत्र गरिएको बताए ।

यसअघि मन्त्री साउँदले भने बोहरासँग आफ्नो कुनै लेनदेन नभएको र धम्की समेत नदिएको बताएका थिए । तर बोहराले भने साउँदले विभिन्न मितिमा आफूसँग लिएको ऋण फिर्ता नगरेको र माग्दा उल्टै ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै प्रहरीमाथि उजुरी दिएका थिए ।

 

प्रतिक्रिया