कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट निकालियो


काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा केही सुधार आएको छ ।

मष्तिष्कघात भई गत शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले आफैं सास फेर्न थालेका छन् ।

नेता जोशीको अवस्थामा चामत्कारिक सुधार भएको भन्दै अस्पतालले बिहीबार बिहानदेखि नै भेन्टिलेटरको सपोर्ट हटाएको बताएको छ । जोशीको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाका अनुसार भेन्टिलेटर हटाएपछि उनले सामान्य रुपमा सास फेर्न थालेका छन् । ‘यो भनेको अनपेक्षित सुधार हो’ डा. झाले भने ।

बेहोस अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर बुधबार बिहान नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी गरिएको थियो । यही कारण पनि जोशीलाई चाँडै भेन्टिलेटरबाट निकाल्न सकिएको डा. झाले बताए ।

सोमबार बिहानदेखि चिकित्सकहरुले मेसिनले सास फेराउने कामलाई घटाउँदै लगिएको थियो । अवस्थामा तीव्र सुधार भएपछि बिहीबारदेखि पूर्ण रुपमा भेन्टिलेटरबाट निकालिएको हो ।

 

 

प्रतिक्रिया