

एनसेल छानबिन समितिले बुझायो प्रधानमन्त्री ‘प्रचण्ड’लाई प्रतिवेदन

काठमाडौं – एनसेलको सेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर समितिले सोमबार प्रधानमन्त्री ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको हो ।
समिति संयोजक टङ्कमणि शर्माले प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । सरकारलाई जानकारी नदिएर मलेसियन कम्पनी आजियाटाले एनसेलको सेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको थियो ।
सो खरिद–बिक्री सम्झौतापछि राजनीतिक दलदेखि संसद्सम्म छानबिनको माग उठेपछि सरकारले समिति गठन गरेको थियो । मङ्सिर २१ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । यो समितिले पुस २४ गते भित्रमा प्रतिवेदन बुझाउन पर्ने हो ।
तर, संयोजक शर्मा बेलायत पुगेपछि प्रतिवेदन समयमा बुझाउन सकिएको थिएन । तोकिएको समयमा प्रतिवेदन तयार नभएपछि सरकारले थप १५ दिन समय थप गरेको थियो । सोहीअनुसार सोमबार समितिले प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको हो ।

