

कोशीमा अन्तर्घातपछि गोकुल बास्कोटा भन्छन्- मायामा घात भए सम्बन्ध तोड

काठमाडाैं- राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कोशी प्रदेशमा सत्ता गठबन्धनमा फ्लोर क्रस भएकोप्रति नेकपा एमालेका नेता गोकुल बास्कोटाले कटाक्ष गरेका छन् ।
उनले कोशीबाट रुक्मणि कोइरालाको जीतपछि ‘तोरीमा कोदो मिसाएपछि तेल हैन, पीना निस्कन्छ’ भन्दै शुक्रबार सामाजिक सञ्जालमार्फत् कटाक्ष गरेका हुन् ।
‘राष्ट्रियसभामा कोशीबाट रुक्मणि कोइरालाको जीतपछि गठबन्धनमा घातको रोइलो सुनियो। तोरीमा कोदो मिसाएपछि तेल हैन, पीना निस्कन्छ,’ उनले लेखेका छन्, ‘गठबन्धनद्वारा क्रमशः हाइज्याक र संकुचित पारिएको हिप्पोक्रेसीविरुद्ध र मतदाताले गरेको वाइडर डेमोक्रेटिक अभ्यासको परिणाम हो। सजिलो छ,मायामा घात भए सम्बन्ध तोड।’
बिहीबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन र एमाले-राप्रपा दुवैतर्फबाट ‘क्रस भोट’ हुँदा एमालेकी रुक्मिणी कोइराला विजयी भएकी थिइन् । अन्य कोटाबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका थिए ।

