

न्यूरोड क्षेत्रमा सवारी प्रवेशमै प्रतिबन्ध !

काठमाडाैं – काठमाडौं महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ ।
महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको छ ।
काठमाडौँ महानगरपालिकाका पूर्वाधार विकास सल्लाहकार सुनील लम्सालले आमनागरिकको सहज आवागमन, सहरी सौन्दर्यकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना तयार गरिएको जानकारी दिए ।
उनका अनुसार सवारी निषेधित क्षेत्र बनाउने योजना अन्तर्गत नै पहिलो चरणमा नयाँ सडकको पार्किङ हटाइएको छ । दोस्रो चरणमा यात्रु चढाउने र ओराल्ने (पिक एन्ड ड्रप) प्रणाली लागु गरिने छ र त्यसको लागि आवश्यक तयारी भइरहेको छ ।
नयाँ सडक क्षेत्रमा पार्किङका लागि ह्विल्स ट्रुली योर्स कम्पनीसँग २०७६ सालमा भएको सम्झौताको म्याद माघ ९ गते सकिएको थियो । उक्त कम्पनीसँग भएको सम्झौता नवीकरण नगरी म्याद सकिएकै दिनदेखि नयाँ सडक क्षेत्रको सडकमा पार्किङ निषेध गरिएको पूर्वाधार विकास सल्लाहकार लम्सालको भनाइ छ ।
समान खरिद गर्न आउने ग्राहक वर्गको सवारी साधन पार्किङ व्यवस्थापनको पहिलो जिम्मेवारी सम्बन्धित पसल सञ्चालक र व्यापारिक केन्द्र सञ्चालकको नै रहेको उनले स्पष्ट पार्नुभयो । महानगरले व्यक्तिपिच्छेको सवारीसाधनका लागि पार्किङ उपलब्ध गराउन नसक्ने भएकाले पसल र व्यापारिक केन्द्र सञ्चालकले नै आफ्ना ग्राहकका लागि पार्किङको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । -गोरखापत्र दैनिक

