पहिलोपटक नवलपुरमा सार्वजनिक भए विप्लव, प्रहरी स्कर्टिङमा उपत्यका छिर्दै


काठमाडौं – सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेसँगै महासचिव विप्लव सार्वजनिक भएका छन्। दुई वर्षदेखि भूमिगत रहेका नेकपाका महासचिव विप्लवको नवलपुरबाट सार्वजनिक भएका हुन्।

महासचिव विप्लवले नवलपुरमा सहिद परिवार भेटघाट गरी शुक्रबार बिहान काठमाडौ प्रस्थान गरेका हुन्। सहिद(सप्ताहको अन्तिम दिन नवलपुरस्थित सहिद फूलमाया सारू ‘रमा’को परिवारलाई विप्लवले भेटेको पत्रकार प्रकाश डुम्रेले जानकारी दिए। उनका अनुसार सहिद फूलमाया सारू ‘रमा’को २०५९ जेठ १९ गते गुल्मीको वामिटक्सारस्थित प्रहरी चौकीमाथिको कारवाहीमा सहादत भएको थियो।

नवलपुरबाट नै भूमिगत पछि उनको पहिलो तस्बिर सार्वजनिक भएको हो। उनलाई कार्यकर्ताले दलदलेबाट शुभकामना दिँदै काठमाडौंका लागि बिदाई गरेका थिए। प्रहरी स्कटिङमा आजै काठमाडौं पुगेर प्रधानमन्त्री केपी ओली सँग उनले संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। विप्लव पक्षसँग बिहीबार तीनबुँदे सहमति भएपछि बसेको मन्त्रिपरिषद् बैठकले दुई वर्षयता लगाइँदै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो। सहमतिका विषय बुँदागत रूपमा नखुलाइए पनि त्यसको विस्तृत विवरण शुक्रबार प्रधानमन्त्री ओली र विप्लव दुवै नेताले एकै मञ्चबाट सम्बोधन गरी सार्वजनिक गर्ने कार्यक्रम बनेको छ।

सहमतिअनुसार नै विप्लवका बन्दी नेता–कार्यकर्ता रिहाइ गर्ने क्रम सुरु भइसकेको छ। सरकारले उनीहरूलाई रिहा गर्न सम्बन्धित प्रशासन कार्यालयलाई सर्कुलर गरेको छ। प्रतिबन्ध फुकुवाअघि प्रधानमन्त्री ओलीले विप्लवका वार्ता टोलीसँग बालुवाटारमा संवाद गरेका थिए।

विप्लव समूहले आफ्ना राजनीतिक मागलाई  शान्तिपूर्ण र वैधानिक रूपमै जनताबीच लैजाने र सरकारले पनि उनीहरूका मागलाई तल्लो तहसम्म बिनारोकतोक बहसमा लैजान दिने गरी शान्तिपूर्ण राजनीतिमा समाहित गरेको हो। दुवै पक्षले मंगलबार वार्ता टोली गठन गरेपछि बालुवाटारमा बुधबार र बिहीबार गरी तीन चरणमा औपचारिक संवाद भएको थियो। त्यस क्रममा सरकार र विप्लव समूहबीच बिहीबार तीनबुँदे सहमति भएको हो। त्यसको कार्यान्वयन प्रक्रिया पनि बिहीबारै सुरु भएको छ।

May be an image of 3 people, people standing and outdoors

विप्लवको पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने, सरकारका तर्फबाट प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषय समेटेर तीनबुँदे सहमति भएको जनाइएको छ। सरकारी वार्ता टोली संयोजक गृहमन्त्री थापा र विप्लव पक्षका वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

१० वर्षे सशस्त्र द्वन्द्वपछि पुष्पकमल दाहालसँगको विद्रोह हुँदै मोहन वैद्य र गृहमन्त्री थापासहितसँग पनि विद्रोह गरी विप्लवले ०७१ मा अलग पार्टी घोषणा गरेका थिए। ०७३ फागुनमा पार्टीको महाधिवेशनपछि भूमिगत रहेका विप्लव चार वर्षपछि राष्ट्रिय सभागृहको औपचारिक कार्यक्रमबाट शुक्रबार सार्वजनिक हुँदै छन्। -अन्नपूर्णपोस्ट्

प्रतिक्रिया