चक्रपथका तीन आकासे पुल अलपत्र


काठमाडौं – चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा प्रस्तावित तीन वटा आकासे पुलको निर्माण कार्य अलपत्र छ । निर्माणका लागि ठेक्का सम्झौता भएको छ वर्ष बित्न लाग्दा पनि अहिलेसम्म काम सुरु भएको छैन तर शक्ति केन्द्रको दबाब र प्रभावमा सम्बन्धित निकायले त्यसको म्याद थप्दै आएको पाइएको छ ।

चक्रपथमा प्रस्तावित बल्खु, महालक्ष्मीस्थान र सानेपामा निर्माण गर्नुपर्ने आकासे पुलको काम अलपत्र परेको छ । बल्खुमा आकासे पुल निर्माणका लागि त्रिवि परीक्षा नियन्त्रण कार्यालयअगाडि जग खनिएको चार वर्ष भइसकेको छ तर थप काम अगाडि बढ्न सकेको छैन । आकासे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ वर्ष बिते पनि काम सुरु हुन नसकेको हो ।

बल्खुको आकासे पुल निर्माणका लागि २०७४ भदौ २९ गते महर्जन/पूर्णचण्डी निर्माण कम्पनी (संयुक्त) सँग सम्झौता भएको थियो । यस पुलको निर्माण लागत चार करोड छ लाख ७८ हजार ८२५ रुपियाँ रहेको छ । यस पुलको निर्माण अवधि सुरुमा २०७५ मङ्सिर २९ गतेसम्म रहेकोमा तीन पटक म्याद थप गरी २०८१ असार मसान्तसम्म रहेको चक्रपथ सुधार आयोजनाका इन्जिनियर सुरेन्द्र सिंहले जानकारी दिए ।

त्यसै गरी महालक्ष्मीस्थानमा आकासे पुल निर्माणका लागि महर्जन/पूर्णचण्डी/ड्रामा निर्माण कम्पनी (संयुक्त) सँग चार करोड ३२ लाख ४३ हजार ६२९ रुपियाँको लागतमा २०७४ असार २८ गते सम्झौता भएको थियो । यस पुलको सुरुको म्याद २०७५ असोज २८ गतेसम्म रहेकोमा यसको पनि तीन पटक म्याद थप गरी २०८० चैत मसान्तसम्म रहेको छ ।

त्यसै गरी चक्रपथको सानेपामा आकासे पुल निर्माणका लागि महर्जन/पूर्णचण्डी/सप्तम् निर्माण कम्पनी (संयुक्त) सँग २०७४ असार २८ गते सम्झौता भएको थियो । सम्झौता अनुसार यो पुलको निर्माण सम्पन्न गर्ने सुरुको अवधि २०७५ असोज २८ गतेसम्म रहेकोमा तीन पटक म्याद थप गरी २०८१ असार मसान्तसम्म रहेको चक्रपथ सुधार आयोजनाका इन्जिनियर सिंहले जानकारी दिए । यस पुलको ठेक्का रकम चार करोड १९ लाख २२ हजार ४२५ रुपियाँ रहेको छ ।

यी तीनवटै आकासे पुलको ठेक्का सम्झौता भएसँगै निर्माण कम्पनीले ‘साइट मोबिलाइजेसन’ स्वरूप कुल निर्माण लागतको २० प्रतिशत रकम पुल महाशाखाबाट बुझिसकेको छ । यसअघि चीन सरकारले कोटेश्वर, ग्वार्को, सातदोबाटो र बागडोलमा सम्झौता अनुसारको आकासे पुल निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । -गोरखापत्र दैनिक

प्रतिक्रिया