आफ्नै पार्टी फुटाएर कांग्रेस र जसपा भेट्नेहरु सफल हुँदैनन् : अर्थमन्त्री पौडेल


तिलोत्तमा – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अप्राकृतिक ढंगबाट सरकारलाई गिराउने काम गर्नेहरुले सरकारको विकासका योजनामा असर नगर्ने बताएका छन् ।

बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै उनले विकासका योजनामा धेरै काम गर्न बाँकी रहेको भन्दै पौडेलले विकासमा अघि बढ्नका लागि विकासको सपना देख्नुपर्ने बताए ।

विकासदेखि हरेक सन्दर्भमा गुणात्मक काम भइरहेको र काम गरेको देख्न नसक्नेहरुले धारिलो प्रहार गरे पनि असफल भएको बताउदै अहिलेको सरकार नै लोकतन्त्रको रक्षा गर्ने सरकार भएको बताएका छन् ।

सोही प्रसंगमा उनले मध्यरातमा अँध्यारा कोठामा गरिएका तानाबानाले सरकार ढाल्न नसक्ने पनि बताए । ‘आफ्नै पार्टी फुटाएर, कहिले कांग्रेस त कहिले जनता समाजवादीका नेता भेट्ने र आफ्ना समर्थनमा सरकारमा बसिदिन आग्रह गर्नेहरु सफल हुँदैनन्’, उनले भने, ‘जनताले साथ दिएको केपी शर्मा ओली नेतृत्वको सरकार नै हरेक तरिकाबाट लायक सरकार हो ।’

बाहिरदेखि सरकारलाई ढलाउने प्रयास भइरहे पनि जनताले रुचाएको वर्तमान सरकार पछि नहट्ने पौडेलको भनाइ थियो । विकास, स्वास्थ्य, शिक्षा लगायत हरेक क्षेत्रमा वर्तमान सरकार अन्तर्राष्ट्रिय मुलुककै गतिमा अघि बढेको पौडेलको दाबी गरे ।

 

प्रतिक्रिया