पाँच बर्षदेखि सडाइदैं अनुदानको ८० क्वीन्टल नुन


बाजुरा – कर्णाली प्रदेशको हुम्ला जिल्लाका लागि अनुदानमा ल्याइएको १ सय ६० बोरा नुन (८० क्विन्टल) अलपत्र अवस्थामा रहेको छ ।

लामो समयदेखि उक्त नुन खपत प्रयोजनका लागि रेखदेखसमेत नहुँदा सड्न लागेको छ । नेपालगञ्जदेखि ढुवानी गरेर हिमाली गाउँपालिकाको कवाडीस्थित एक स्थानीयको घरमा गोदाम बनाएर राखिएको पाँच वर्ष पुग्दा पनि कसैले चासो देखाएका छैनन् ।

कवाडीस्थित गोदाममा पुगेको नुनको पाँच वर्षसम्म पनि खोजी नगर्दा अलपत्र अवस्थामा पुगेको स्थानीयले बताएका छन् । ठेकेदारबाट अनुदानबापतको नुन कवाडीसम्म पुगे पनि समयमा सम्बन्धित ठाउँमा पुग्न नसक्दा गोदाममै अलपत्र बनेको छ ।

नुनको पाकेट बाहिर लेखिएको मिति हेर्दा २०७५ सालमा ढुवानी भएको देखिन्छ । पाकेटमा लेखिएको मितिका कारण धनगढीको नभई नेपालगञ्जबाट हुम्लाका लागि ढुवानी भएको कर्मचारी बताउँछन् । उक्त मात्राको नुन ढुवानी गर्ने ठेकेदार को हुन्, कसको ठेक्का हो र ढुवानी कसले गरेको हो भन्नेबारे यकीन हुन नसकेको स्थानीयको भनाइ छ ।

हुम्लाको ठेकेदारले नुन ढुवानी गरेको हुनसक्ने आशङ्का भए पनि ठेकेदारको नाम भने पहिचान हुन नसकेको हिमाली–५ का वडाध्यक्ष प्रदीप बुढथापाले बताए । नुन ढुवानी भएदेखि हालसम्म ठेकेदार सम्पर्कमा नआएको र अन्य कुनै निकायबाट पनि खोजी नभएको उनको भनाइ थियो । साल्ट ट्रेडिङ कम्पनी नेपालगञ्जको नुन भएकाले बाजुराको नभई हुम्लाको हुनसक्ने आशङ्का स्थानीयले गरेको उनले बताए ।

अनुदानको नुन कवाडीका स्थानीय प्रकाश बुढथापाको गोदाम घरमा विगत पाँच वर्षदेखि राखिएको छ । त्यतिबेला हुम्ला जाने सडक नहुँदा कवाडीमा गोदाम बनाएर नुन राखिएको हुनसक्ने भन्दै वडाध्यक्ष बुढथापाले हालसम्म कसैले खोजी भने नगरेका जानकारी दिए ।

 

प्रतिक्रिया