विमानस्थल जिम्मा लिएका दुवै सहसचिव अवैध लाइसेन्स प्रकरणमा मुछिए

हालका अध्यागमन प्रमुख हमाल र भन्सार कार्यालय प्रमुख डा. पाण्डेसहित ४ पूर्व महानिर्देशकको पालामा धेरै अवैध लाइसेन्स वितरण गरिएको प्रतिवेदन


काठमाडौं – यातायात व्यवस्था विभागमा लाइसेन्स वितरणमा गम्भीर लापरबाही भएसँगै छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेका चार पूर्वमहानिर्देशक मध्ये दुई जना अहिले देशकै सबैभन्दा महत्वपूर्ण मानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको साँचो लिएर बसिरहेका छन् ।

यातायात व्यवस्था विभागका सूचना प्रविधि निर्देशकको संयोजकत्वमा गठित समितिले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा विगतमा विभागको नेतृत्व गरेका चार महानिर्देशकको कार्यकालमा सबैभन्दा बढी अनियमितता रहेको ठहर गर्दै भौतिक तथा यातायात मन्त्रालयमा प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार विभागका पूर्व महानिर्देशकहरु सहसचिव कुमार प्रसाद दाहाल, गोगनबहादुर हमाल, नमराज घिमिरे र डा. टोकराज पाण्डे अवैध लाइसेन्स वितरणमा मुछिएका छन् ।  दाहालको पालादेखि सुरु भएको अवैध लाइसेन्स वितरण हमाल, घिमिरे हुँदै पाण्डेको पालामा झन् बढी देखिएको प्रतिवेदनमा जनाइएको उल्लेख छ ।

अहिले उनै पाण्डे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका प्रमुख रहेका छन् । पाण्डे यातायात व्यवस्था विभागमा ५ महिना बसेका थिए ।

त्यस्तै अर्का सहसचिव गोगनबहादुर हमाल अहिले त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख रहेका छन् । उक्त कार्यालयले नेपालबाट विदेश जाने र आउने सम्पूर्ण यात्रुहरुको भिषालगायतका कार्यहरु गर्दछ । त्यसको नेतृत्व गर्ने हमाल नै अवैध लाइसेन्स प्रकरणमा मुछिएका छन् । हमालले १८ महिना महानिर्देशकका रूपमा विभागमा जिम्मेवारी सम्हालेका थिए । हमालले त्यस किसिमको कार्यमा आफू संलग्न नरहेको बताए । उनले भने, ‘लाइसेन्स दिने स्थानमा बाहिरी व्यक्तिहरुले अनियमितता गरेको हुनसक्ने तर म संलग्न छैन ।’

त्यस्तै भन्सार कार्यालय प्रमुख डा. टोकराज पाण्डेले त्यस विषयमा छानबिन सुरु भइसकेकोले आफूले थप केही नबोल्ने बताए । उनले भने, ‘छानबिनका लागि गइसकेको विषयमा थप बोल्नु परेन, दोषी छुट्नु भएन, निर्दोषले मुछिनु भएन ।’

लाइसेन्स वितरण जस्तो जघन्य घटनामा मुछिएका यी दुई उच्च अधिकारीलाई मुलुककै सबैभन्दा संवेदनशील स्थानको नेतृत्व गरिरहेकोले अहिले प्रश्न उठ्न थालेको छ ।

प्रतिक्रिया